इटहरी। कोशी प्रदेशका तेह्रथुम र सङ्खुवासभाका विभिन्न स्थानीय तह समेटेर लालीगुराँस पदमार्ग पर्यटन विकास परियोजना अघि बढाइएको छ । गुराँसले राताम्मे हुने डाँडाकाँडा, चिसा पोखरी, हिमाली दृश्य, रैथाने बस्ती र मौलिक संस्कृतिलाई जोडेर पूर्वी पहाडमा नयाँ पदयात्राको गन्तव्य तयार गर्न लागिएको हो । 

पूर्र्वी नेपालको प्राकृतिक सम्पदा, जैविक विविधता, सांस्कृतिक धरोहर र ग्रामीण जीवनशैलीलाई पर्यटनसँग जोड्दै दिगो आर्थिक विकास गर्ने लक्ष्यका साथ यो परियोजना अघि बढाइएको हो । परियोजनाका पदमार्ग संयोजक अजेयराज श्रेष्ठका अनुसार पदमार्ग निर्माण तथा पुनर्स्थापना, गन्तव्यको ब्रान्डिङ र प्रवर्धनसँगै होमस्टे, स्थानीय खानपान, संस्कृति संरक्षण र साहसिक पर्यटनलाई समेत जोडिने छ । प्याराग्लाइडिङ, बन्जी, जिप फ्लाइङ, माउन्टेन बाइकिङ, र्‍याफ्टिङ, कायाकिङ र क्यानोइङ जस्ता गतिविधिमा निजी क्षेत्रको लगानी आकर्षित गर्ने लक्ष्य छ । २०८१ सालदेखि सुरु भएको यो परियोजना २०८५ सालमा सम्पन्न गर्ने गरी काम भइरहेको छ । लालीगुराँस नगरपालिकाका सबइन्जिनियर सुमन गुरुङका अनुसार परियोजनामा स्विस सरकारको ५१ प्रतिशत, स्थानीय सरकारको २२ प्रतिशत, कोशी प्रदेश सरकारको २२ प्रतिशत र नेपाल सरकारको पाँच प्रतिशत लगानी रहेको छ । चालु आर्थिक वर्षमा पदमार्ग निर्माणका लागि ४१ लाख १० हजार ६९५ रुपियाँ तथा परिधि संरचना निर्माणका लागि १३ लाख २२ हजार ६७० रुपियाँमा सम्झौता गरी काम भइरहेको उहाँको भनाइ छ । 

पर्यटन ट्रेल विकास कार्यक्रम अन्तर्गत पदमार्गमा वातावरणमैत्री पूर्वाधार निर्माण भइरहेको छ । पदमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष विवेक योङ्हाङका अनुसार पदमार्ग कटिङ, ढुङ्गे सिँढी, सुक्खा वाल रिटेनिङ वाल, ब्रेस्ट वाल, साइड ड्रेन, क्रस ड्रेनेज, विश्रामस्थल, सार्वजनिक शौचालय, खानेपानी तथा सङ्केत बोर्ड निर्माण भइरहेका छन् । गुराँसका बिरुवा रोप्ने काम तीव्र गतिमा अघि बढिरहेको छ ।

गुराँस हिमालदेखि रैथाने संस्कृति  

नेपालमा पाइने करिब ३२ प्रजातिका गुराँसमध्ये २८ प्रजाति यही क्षेत्रमा पाइने भएकाले यसलाई गुराँसको राजधानी भनेर चिनिन्छ । वसन्त ऋतुमा राताम्मे हुने गुराँसका वन, चिसा खोल्सा, हरियाली र हिमाली दृश्यले यस क्षेत्रलाई देशकै आकर्षक पदयात्रा गन्तव्य बनाएको लालीगुराँस नगरपालिकाका मेयर अर्जुन माबोहाङ बताउनुहुन्छ । 

नगरप्रमुख माबोहाङले पदमार्गलाई प्रकृति संरक्षण र स्थानीय संस्कृतिसँग जोडेर विकास गरिरहेको बताउनुहुन्छ । उहाँका अनुसार पदमार्गछेउछाउमा गुराँस, मालिङ्गो र पर्याङ रोप्ने, रेड पान्डाको वासस्थान संरक्षण गर्ने तथा बाह्रै महिना फूल फुल्ने बिरुवा रोपेर पदमार्गलाई अझ आकर्षक बनाउने काम भइरहेको छ । होमस्टेमा रैथाने कला, संस्कृति र स्थानीय परिकारलाई प्राथमिकता दिइएको उहाँले बताउनुभयो ।  पदयात्राका क्रममा तीनजुरेडाँडा, मिल्केडाँडा, गुफापोखरी, रातपोखरी, धनपोखरी, खोपिङ पोखरी र ह्यात्रुङ झरना जस्ता प्राकृतिक सम्पदासँगै मकालु, कञ्चनजङ्घा, ल्होत्से र सगरमाथालगायत हिमशृङ्खलाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । प्राकृतिक सम्पदासँगै यो पदमार्ग धार्मिक र सांस्कृतिक दृष्टिले पनि उत्तिकै महत्त्वपूर्ण छ ।

समेटिँदै बाह्र पालिका 

स्विस विकास सहयोग, नेपाल सरकार, कोशी प्रदेश सरकार तथा सम्बन्धित स्थानीय तहहरूको साझेदारीमा सञ्चालन भइरहेको यो परियोजनाले तेह्रथुम र सङ्खुवासभाका लालीगुराँस, म्याङ्लुङ फेदाप, धर्मदेवी, मादी, चैनपुर, पञ्चखपन, सभापोखरी, मकालु, चिचिला, खाँदबारी र सिलिचोङ गरी १२ वटा स्थानीय तहलाई पर्यटन सञ्जालमा जोड्ने छ । यसको फाइदा तेह्रथुम र सङ्खुवासभा जिल्लालाई मात्र नभई धनकुटा र ताप्लेजुङलाई समेत पुग्ने पर्यटन व्यवसायी बताउँछन् । यो पदमार्गसम्म आउन धनकुटा हुँदै आउनुपर्ने हुन्छ । जसको फाइदा धनकुटालाई हुने उनीहरूको भनाइ छ । ताप्लेजुङको पनि केही भाग यसमा पर्ने भइकाले ताप्लेजुङलाई समेत फाइदा हुने लालीगुराँस–१ का स्थानीय चन्द्र गुरुङ बताउनुहुन्छ ।