सोलुखुम्बु / सगरमाथा पदयात्रा पदमार्ग (एभ्रेस्ट ट्रेकिङ ट्रेल) क्षेत्रको पूर्वाधार निर्माणसँगै त्यस क्षेत्रको पर्यटक आवागमन सहज बन्दै गएको छ । पदमार्ग क्षेत्रका जीर्ण बनेको पूर्वाधारको निर्माणसँगै यस क्षेत्रको पर्यटन आवागमन सहज बनेको हो ।

चालु आर्थिक वर्ष २०८०/८१ मा कोशी प्रदेश सरकार सोलुखुम्बुको सगरमाथा पदयात्रा पदमार्ग क्षेत्रमा पर्ने प्रमुख पर्यटन पदमार्गको पूर्वाधार निर्माणका लागि मात्रै रु एक करोड २५ लाख रकम विनियोजन गरेको थियो । यसमा लार्चा दोभानदेखि नाम्चे बजार जाने सगरमाथा पर्यटकीय पदमार्गको पूर्वाधार निर्माणमा रु २५ लाख, गोक्यो पर्यटकीयस्थल तथा चोयु हिमाल जाने पदमार्ग पूर्वाधार निर्माणमा रु २५ लाख, फोर्चेदेखि सगरमाथा जाने पदमार्ग निर्माणमा रु २५ लाख, सगरमाथा पर्यटन पदमार्ग निर्माण कार्यको निरन्तरतामा रु २५ लाख र घाट क्षेत्रको पर्यटन पदमार्ग निर्माणमा रु २५ लाखको विनियोजन गरिएको छ ।

रकम विनियोजन भएअनुसार हाल पाँचवटै पदमाग क्षेत्रमा पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले जानकारी दिए। पर्यटकीय क्षेत्रका पदमार्गको पूर्वाधार निर्माणले यस क्षेत्रमा पर्यटनको आवागमनलाई थप सहज बनाउने उनले बताए ।

सगरमाथा क्षेत्र जाने पर्यटकका लागि एकमात्र माध्यम पदमार्ग भएकाले यस क्षेत्रका पदमार्गको पूर्वाधार निर्माणलाई पर्यटन व्यवसायीले निकै महत्त्व साथ हेरेका छन् । पहिलो सगरमाथा आरोही सर एड्मण्ड हिल्लारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा आरोहणमा जाने क्रममा पनि यीनै पदमार्गको प्रयोग गरिएकाले यस क्षेत्रको पूर्वाधार निर्माणको महत्त्व अझ बढेको नाम्चेका पर्यटन तथा होटल व्यवसायी लामाकाजी शेर्पाले बताए ।

एकातिर भौगोलिक विकटता अर्कोतर्फ यस क्षेत्रका पदमार्ग जीर्ण र साँघुरा भएका कारण पर्यटकले निकै सास्ती खेप्नुपरेको थियो । लार्चा दोभानदेखि नाम्चे बजार जाने पदमार्ग पनि निकै जीर्ण साँघुरो थियो । पदमार्गको सडकखण्ड साँघुरा भएकाले पर्यटक, पर्यटकको सामग्री लिएर गएका भरिया र खच्चड लडेर घाइते तथा मृत्यु हुने गरेको स्थानीय टसी शेर्पा बताउछन् । तर अहिले प्रदेश सरकारको लगानीमा उक्त पदमार्गको पूर्वाधार निर्माणसँगै फराकिलो बनाउने काम भइरहेको छ । यसअघि करिब चार फिट चौडाइ भएको उक्त पदमार्ग सडक खण्ड अहिले करिब सात फिट फराकिलो सहित सोलिङ तथा स्टेप राख्ने काम भइरहेको खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारी बताउछन् ।

विश्वको छैटौँ अग्लो आठ हजार एक सय ८८ मिटर उचाइ भएको चोयु हिमाल यही पदमार्ग हुँदै जान सकिने भएकाले यसको महत्त्व पनि उच्च रहेको स्थानीय जानकार याङ्जी शेर्पाको भनाइ छ । सगरमाथा क्षेत्रमै पर्ने चोयु हिमाल अवलोकनका लागिसमेत विदेशी तथा स्वदेशी पर्यटक यस क्षेत्रमा पुग्ने गर्छन् ।

प्रदेश सरकारको लगानीमा विगत तीन आर्थिक वर्षअघिदेखि फोर्चेदेखि सगरमाथा जाने पदमार्ग निर्माणको काम जारी रहेको छ । डरलाग्दो भीर कट्टान गरी पदमार्ग निर्माण गर्नुपर्ने भएकाले झण्डै सात मिटरको पर्खाल तयार गरेर बाटो निर्माण गर्ने काम भइरहेको छ । सडकको सहज पहुँच नपुगेको क्षेत्र भएकाले कामदार ज्याला र खाना महँगो हुँदा धेरै बजेटले थोरै काम हुने भएको खुम्बु पासाङ ल्हामु गाउँपालिका उपाध्यक्ष टासी ल्हामु शेर्पाले बताए ।

विश्वकै अग्लो सगरमाथादेखि अन्य उच्च हिम शिखरसमेत यस क्षेत्रमा पर्ने भएकाले सगरमाथा पर्यटन क्षेत्र विश्वभरिका पर्यटकको गन्तव्यस्थल बन्दै आएको छ । विश्वको चौथो अग्लो शिखर ल्होत्से (८,५१६ मिटर) र छैटौँ अग्लो चोयु (८, १८८ मिटर) खुम्बु क्षेत्रको महालङ्गुर हिमशृङ्खलामै छन् । 

कोशी प्रदेश सरकारले प्रदेशभित्रका पर्यटन पूर्वाधार विकासमा चालु आवमा रु ८३ करोडभन्दा बढीको योजना सञ्चालन गरेको छ । प्रदेश सरकारले पर्यटन विकासअन्तर्गतका योजनाबाट कोशीका १४ वटै जिल्ला समेटिएको कोशी प्रदेश पर्यटन पूर्वाधार विकास आयोजना प्रमुख कुलप्रसाद यादवले जानकारी दिए । पर्यटन प्रवर्द्धनको प्रचुर सम्भावना बोकेको कोशी प्रदेशलाई देशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रूपमा विकास गर्न प्रदेश सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको उनको भनाइ छ ।

सरकारले ताप्लेजुङमा रु तीन करोड २५ लाख, पाँचथरमा रु छ करोड २५ लाख, इलाममा रु १० करोड २५ लाख, झापामा रु १२ करोड ६५ लाख, मोरङमा रु १७ करोड ९५ लाख र सुनसरीमा रु १४ करोड ७५ लाख रकमको कार्यक्रम सञ्चालन गरेको छ । यस्तै धनकुटामा रु २७ लाख, एक करोड ५० लाख, भोजपुरमा रु एक करोड ४५ लाख, सङ्खुवासभामा रु ९० लाख, खोटाङमा रु चार करोड २५ लाख, ओखलढुङ्गामा रु एक करोड ८५ लाख, उदयपुरमा दुई रु करोड र सोलुखुम्बुमा रु तीन करोड बराबरको योजना सञ्चालन भएको मन्त्रालयको तथ्याङ्क छ ।

विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिम शिखरमध्ये छवटा हिमशिखर यसै प्रदेशमा पर्दछ । त्यसैले यस प्रदेशमा पर्वतारोहण पर्यटनदेखि जलयात्रा, पदयात्रा, वन्यजन्तु अवलोकन, दृश्यावलोकन, धार्मिक तथा सांस्कृतिक, जङ्गल पर्यटनलगायत पर्यटनका विविध गतिविधिको सम्भावना रहेको छ । पर्यटन क्षेत्रका विविध गतिविधिको पहिचान र सम्भाव्यता अध्ययन गरी आवश्यक पूर्वाधार निर्माण गर्न सके छिमेकी मुलुक भारतको विहार र पश्चिम बङ्गालबाट बर्सेनि हजारौँ पर्यटक भित्र्याइ प्रदेशको प्रमुख आयस्रोत बनाउन सकिन्छ ।