उदयपुर \ धार्मिक आस्थाको केन्द्र बोकेको पर्यटकीयस्थल रौता पोखरी रौतामाई गाउँपालिकामा पर्दछ। कोभिड–१९ को कारण झण्डै दुई वर्षसम्म पर्यटकविहीन बनेको जिल्लाको पर्यटकीयस्थल रौता पोखरी क्षेत्रमा अहिले पर्यटक आगमन बढेको छ।

समुद्र सतहबाट २ हजार मिटरको उचाइको पहाडी क्षेत्रमा रहेको रौता क्षेत्रबाट सगरमाथा, आमादब्लाम, ल्होत्से, चोयु, कञ्चनजङ्घा, अरुणवरुण क्षेत्रसहित आठवटा हिमशृङ्खला प्रष्ट देख्न सकिन्छ।

रौतामाई क्षेत्रमा मुख्य गरी पूर्वी नेपालका पर्यटकहरु आउने गरेका छन्। खासगरी यस क्षेत्रमा झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, सर्लाही, सिन्धुलीलगायतका जिल्लाका पर्यटकहरु धेरै आउने गरेका छन्। 

बाह्रै महिना आन्तरिक तथा बाह्य पर्यटकहरूको घुइँचो लाग्ने रौता पोखरीबाट चारैतिर हरियाली वनजंगल र ठुलाठुला हिम श्रृङ्खला देखिने दृश्यले घुम्न आउने पर्यटकहरुको मन लोभ्याउँछ। 

पोखरी छेउमा रहेको रौता रानीको मन्दिरमा आ आफ्नो भाकल अनुसार पाठी र परेवाको वली दिई पोखरीको दर्शन गरेको खण्डमा आफ्नो इच्छा पूरा हुने दरिलो जनविश्वास समेत छ । महाभारत पर्वत श्रृङ्खलाको करिब नौ हजार फिटको उचाइमा अवस्थित यस स्थलको वरिपरी सदावहार सुन्दर हरियो वनस्पतिले घेरिएको पहाडको टुप्पोमा झण्डै एक विघा जमिनलाई ओगेटेर फैलिएको यो पोखरीको पानीको मात्रा कहिल्यै घटवढ नहुने र नधमिलिने विशेषता छ । तर मुलुकमा अनिष्ट पर्न लागे पोखरी सुक्ने र रातो रगत जस्तो देखिने स्थानीय बताउँछन् ।

“वरिपरी जङ्गलले ढाकेको भएपनि वर्षैदेखि धार्मिक आस्था र विश्वासको धरोहरका रुपमा रहेको रौता पोखरीको पानीमा रुखवाट झरेका एउटा पनि पात देखिँदैनन्,” ४० बर्षदेखि मन्दिरमा पूजा गर्दै आएका हितबहादुर मगर भन्छन्, “पानीमा पात झर्नासाथ गुलावी सिउर भएको कालो रङ्गको चराले चुच्चोले च्यापेर घाम झुल्किनु अगावै पानीबाट बाहिर निकाल्ने गर्छन् । ”रौतामा खानका लागि पर्यटकहरुलाई स्थानीय उत्पादन कोदो, मकै, फापरको ढिँडो, धान, सिस्नु, साग, स्थानीय जातको कुखुरा, दाल, गुन्द्रुकको अचारजस्ता परिकार पाइन्छ।