काठमाडौं | महाभारत पर्वत शृङ्खलाको काखमा अवस्थित पनौती, पुण्यमती र रोशी खोलाको संगमस्थलमा फैलिएको एक समृद्ध ऐतिहासिक नगर हो। काठमाडौँदेखि करिब ३० किलोमिटरको दूरीमा रहेको पनौती धार्मिक, सांस्कृतिक र प्राकृतिक विविधताले भरिपूर्ण पर्यटकीय गन्तव्य हो।

पनौतीको नाम समयसँगै पनवती, पञ्चवा, पलाती हुँदै पनौतीमा परिवर्तन भएको जनविश्वास पाइन्छ। नेपाल भाषामा ‘प’ भनेको बाँस र ‘ती’ भनेको गाड्नु भन्ने अर्थ लाग्छ। अर्को तर्फ, मल्लकालमा पुण्यभूमिमा पाइला राखे मोक्ष प्राप्त हुने विश्वासका आधारमा “पलाती” भनिएको किंवदन्ती छ। सत्ययुगदेखि कलियुगसम्मका धर्म, दर्शन र पौराणिक कथाहरूले यस ठाउँलाई अध्यात्मको भूमि बनाएका छन्।

पनौती त्रिवेणीघाट, इन्द्रेश्वर मन्दिर, धनेश्वर, गोरखनाथ, भालेश्वर मन्दिरजस्ता सम्पदाले भरिपूर्ण छ। यहाँ हरेक १२ वर्षमा लाग्ने मकरमेलाले यो ठाउँलाई उत्तर प्रयागका रूपमा चिनाएको छ। गाईजात्रा, नवदुर्गा नाच, माधवनारायण पर्व लगायतका जात्राले पनौतीलाई संस्कृतिको सहर बनाएको छ।

पनौती नजिकैको नमोबुद्ध बौद्ध धर्मावलम्बीहरूका लागि मात्र नभई सबै घुमन्तेहरूका लागि आकर्षण हो। त्यही मार्ग हुँदै अघि बढ्दा पुरानो व्यापारिक बस्ती दाप्चा पुगिन्छ। पुरातात्त्विक मठ, मन्दिर, नेवारी शैलीका घर र जात्रापर्वले समृद्ध दाप्चा घुम्न पुगेपछि "बन्दीपुर बिर्साउने" अनुभूति हुने बताइन्छ।

पनौतीदेखि गोदावरीसम्मको क्षेत्र 'चरा हब' का रूपमा विकास हुँदैछ। यहाँ पाइने २८० प्रजातिका चरा संरक्षण र पर्यावरणीय पर्यटनको सम्भावना बोकेको तथ्य हो।

फुलचोकीदेखि गुर्दुमडाँडा जोड्ने साइकल ट्रेल, तोरीखोरीको रक क्लाइम्बिङ, कुशादेवी–फुलचोकीको प्याराग्लाइडिङले साहसिक पर्यटनप्रेमीलाई लोभ्याउने गरेका छन्।

पनौतीलाई यःमरीको जन्मस्थल मानिन्छ। यहाँ यःमरीको स्तम्भसमेत स्थापना गरिएको छ र पाहुनाघरहरूमा नियमित रूपमा यो परिकार तयार हुन्छ।

साथै, यहाँ पाइने सिमाली (लेउ) परिकार पनि स्वादिलो र पौष्टिक छ। सिमाली असला माछाको स्वाद दिने भएकाले होटलदेखि दरबारसम्म यसको खपत भएको थियो। तर प्रदूषण र क्रसर उद्योगको कारण यसको अस्तित्व संकटमा परेको छ।

पनौतीको महत्त्व केवल इतिहासमा सीमित छैन; यो आधुनिक पर्यटनको एउटा प्रमुख केन्द्र बन्ने सम्भावनाले भरिपूर्ण छ। धार्मिक, सांस्कृतिक, साहसिक र जैविक विविधता बोकेको पनौतीले आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउने सम्पूर्ण तत्व समेटेको छ।