कुनै बेला तेह्रथुमको बसन्तुपुर आधार क्षेत्रमा रहेर पर्यटन अभियानकर्मीको रूपमा रहेका राजनीतिज्ञ लछुमन तिवारी अहिले प्रदेश १ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री भएका छन् । तेह्रथुमका प्रत्यक्ष निर्वाचित सांसद तिवारीसँग पर्यटन क्षेत्रको लामो अनुभव छ । तेह्रथुम, संखुवासभा र ताप्लेजुङमा फैलिएको तीनजुरे मिल्के जलजले (टीएमजे)लाई गुराँसको राजधानी बनाउन भूमिका तिवारीको पनि छ । यसै मेसोमा नेपाल टुरिजम प्लसका प्रकाशक  विकल पौडेलले मन्त्री तिवारीसँग लामो कुराकानी गरेका छन् । कुराकानीको सार: 

 यतिखेर  केमा  व्यस्त हुनुहुन्छ ?
अहिले मैले  प्रदेश न.१ को उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीको जिम्मेवारी पाइसकेपछि मन्त्रालयसँग सम्बन्धित कामहरूको बारेमा अहिले व्यस्त छु। मन्त्रालयमा काम गरिरहेका छु।

यस अगाडि नै पर्यटन क्षेत्रमा जोडिनु भएको छ । अहिले पर्यटन मन्त्रालयमै हुनुन्छ । यो तपाइको रोजाइ नै थियो कि बाध्यता ?

मेरो पहिला देखिको इच्छाको विषय  पर्यटन क्षेत्र हो र अहिले  रोजाइको विषय पनि हो ।

टीएमजे क्षेत्रमा तपाइले धेरै राम्रो प्रयास गर्नु भएको थियो। अभियानकर्मी हुँदै भएको योगदान मन्त्री भएपछि के थपिएला?

हिजो तिनजुरे मिल्के जलजले क्षेत्रको पर्यटन विकास गर्ने सन्दर्भमा अभियन्ताको रूपमा काम गरिरहेको थिए, त्यस पछि त्यो क्षेत्रबाट प्रदेश सभाको सदस्यमा निर्वाचित भए । अहिले प्रदेश न.१ को मन्त्रीको रूपमा काम गरिरहेका छु ।  यस अर्थमा मेरो जिम्मेवारी प्रदेश न.१ भित्र सबै नै रहने भयो । 

 तपाइको विचारमा प्रदेश १ को प्रमुख पर्यटन ब्रान्ड के हो?

हामी १ न.प्रदेशलाई पर्यटकीय गन्तव्य स्थलका रूपमा विकास गर्नका लागि के गर्न सकिन्छ भन्ने बारेमा हामी छलफल गरिरहेका छौ । र मैले के सोचिरहेको छु भने अब १ न. प्रदेशका निम्नतम १८/२० ओटा ठाउँहरू जो अहिले नेपाल सरकारले चैँ १०० वटा गन्तव्यहरू जो सूचीकृत नेपालमा गरेको छ । त्यसमा १६ वटा गन्तव्यहरू प्रदेश न.१ मा पर्छ । त्यसमा प्रदेशले अरू २/४ वटा गन्तव्यहरू थपेर निम्नतम २० वटा गन्तव्य स्थलहरूलाई सूचीकृत गर्ने र ती गन्तव्य स्थलहरूको पर्यटन पूर्वाधार विकासलाई हामीले जोड गरेर अगाडि बढाउने जसको कारणले गर्दा खेरी  पर्यटन पूर्वाधारहरू पनि गर्दै जाने ।  त्यसो गर्‍यो भने  १ न. प्रदेशलाई पर्यटन पूर्वाधारका रूपमा विकास गर्न सकिन्छ।

यसमा हमिलाइ प्रकृतिले पनि १ न. प्रदेशको सिरानमा नेपालको सबैभन्दा अग्लो चुचुरो सगरमाथा पनि छ मकालु हिमाल पनि छ कञ्चनजङ्घा हिमाल पनि  छ। त्यो हिमाली शृङ्खलाबाट जन्मिएका हिमनदिहरु चाहे तमोर होस् चाहे अरुण होस् चाहे भोटेकोसी र तामाकोसी हुन् त्यो एउटा जलाधार क्षेत्र भित्र आएर आएर बराह क्षेत्रमा मिल्छ ।  धार्मिक गन्तव्य हेर्नु हो भने सगरमाथामा कोरिडोरमा हलेसी धाम छ त्यो धार्मिक रूपमा अत्यन्त महत्त्वपूर्ण स्थल हो। त्यसपछि कोसी कोरिडोरमा हेर्नू भो भने बराह क्षेत्र आफैमा धार्मिक हिसाबले सारै महत्त्वपूर्ण क्षेत्र हो र मेची कोरिडोरमा पाथीभरा मन्दिर छ ।

मेची कोरिडोरको तल राजमार्गबाट इलामको विभिन्न पर्यटकीय स्थल  हुँदै पाँचथरको सिलौटे हुँदै पाथीभरा हुँदै कञ्चनजङ्घा सम्मको एउटा कोरिडोरलाई विकास गर्न सक्छौ ।  कोसीको बराह क्षेत्र हुँदै तिनजुरे मिल्के जलजले लालिगुरास क्षेत्र अरुण उपत्यका हुँदै मकालु बेस तिर पर्यटन पूर्वाधारका काम गर्न सक्छौ । यहाँबाट हाम्रो शृङ्खला अगाडि बढ्दै गए पछि भेडेटार हुँदै नमस्ते झरना हुँदै हामी त्यो शृङ्खला विकास गर्न सक्ने हाम्रो एउटा क्षेत्र छ। अब सगरमाथा को बेसमा तपाईं जानू भयो भने हामी हलेसी हुँदै सगरमाथा कोरिडोर सम्म ठाडो जोड्न सकियो र तेर्सो हिसाबले चाहिँ धार्मिक स्थलहरूलाई जोडेर अगाडि बढाउन सकियो र यसको एकीकृत प्याकेज हामीले बनाउन सकियो भने मलाइ लाग्छ १ न. प्रदेश साँच्चै पर्यटकीय गन्तव्य स्थ लको रूपमा विकास गर्न सकिन्छ ।

 प्रदेश १ ले विहार र बङ्गालका पर्यटक तान्न किन सकिरहेको छैन? सरकारको के कमजोरी छ ? व्यवसायीको के छ ?
 
हामीसँग भएका प्राकृतिक सम्पदाहरूलाई हामीले बेच्न प्रवर्द्धन गर्न सकेका छैनौ ।  हामीसँग भएका प्राकृतिक सम्पदाहरू प्रमोसन गर्ने र विहारका पर्यटन भित्राउन सके मात्र धेरै  आर्थिक अवस्थामा टेवा पुग्ने देखिन्छ । हामी पर्यटनलाई अगाडि बढाउँदै प्रादेशिक बोर्ड गडन गरेका छौँ ।  पर्यटन कार्यालय छन् र जोगवनप नाकालाई सहज बनाउने विराटनगर एरपोटलाई विकास गर्ने लगायत अन्य धेरै कुराहरू रहेका छन् यी कुरालाई विकास गरेमा पर्यटन क्षेत्रमा अगाडि बढ्ने देखिन्छ।

मन्त्रीमण्डलको आयुको कुनै टुङ्गो छैन । यस्तो दुबिधामा काम गर्न कत्तिको दबाब हुन्छ ? 

हाम्रो सरकार कहिल्यै पछाडि हट्दैन हाम्रो सरकार बहुमतको सरकार १६८ अनुसार अगाडि बढेको छ । केही साथीहरू जसलाई पूर्वएमाले भन्नुपर्छ उहाँहरू समाजबादिमा जानुभयो । आजका दिनसम्म हामी बहुमतकै सरकार छौ हाम्रो यो सरकार टिक्छ भन्ने कुरामा म ढुक्क छु त्यही अनुसार काम गरिरहेका छौ । मलाई मेरो मन्त्रालयमा केही समस्या छैन । सबै कर्मचारीहरू उत्सुक हुनुहुन्छ काम गर्न कुनै असर छैन यसको पूर्ण आयु टिक्छ । सबै क्षेत्रका बारेमा छलफल गरी पुर्णा रूपमा अगाडि बढ्छ ।

 प्रदेश १ को पर्यटन पोखरा र चितवन अनि लुम्बिनीको स्तरमा पुग्न के के गर्नुपर्ला?

 पोखरा चितवन भन्दा राम्रा स्थानहरू रहेका छन् हामीसँग । कोशिटप्पु लगायतका महत्त्वपुर्ण र सम्भावना बोकेका क्षेत्रहरू रहेका छन् । त्यसको प्रमोसन गर्न नसकेका कारण यस्तो भएको हो । हिजो पोखरा लुम्बिनी हरूमा पर्यटन काठमाडौँ आउने र नजिकमा रहेको पोखरा लुम्बिनी रोज्नु भको छ । तर प्रदेश १ मा रहेका क्षेत्रलाई राम्रो बनाएमा धेरै पर्यटन ल्याउन सकिने छ ।

कोसी टप्पुलाई वन्यजन्तु आरक्षबाट राष्ट्रिय निकुञ्ज बनाउने कुरा छ । यसमा तपाईँको धारणा र सहयोग के हुन्छ?

यसलाई निकुञ्ज बनाउने कुरामा हामी त्यहाका जनता भन्दा बाहिर जानू हुँदैन । हामीले जे काम गर्छौ जनताको लागि गर्छौ । हामीले गरेको कामलाई स्थानीय बाहिले फाइदा लिन सकुन् उनीहरूलाई सहज वातावरण सिर्जना होस । र आर्थिक समृद्धिमा पनि अगाडि बढ्न सकोस् । अब हामीले यसरी जाने भएकाले चाहे बनको कुरा गरौँ चाहे निकुञ्ज को कुरा गरौँ चाहे अन्य क्षेत्रको कुरा गरौँ अब जनतामुखी हुने ।

 प्रदेश १ मध्य पाहाडि क्षेत्रमा न वन्यजन्तु आरक्ष छन् न राष्ट्रिय निकुञ्ज । किन यस्तो भएको होला? कसरी सुधार गर्न सकिन्छ?

हामीसँग गएका हिमाल पहाड तराईहरू जसमा पनि तिनजुरे जलजले मिल्के क्षेत्र छ जसलाई लालीगुराँस को क्षेत्रमा अगाडि बढाउन खोजेका छौ । यसरी हेर्दा पहाडी क्षेत्रमा मानव बस्ती  बाक्लो भएका कारणले निकुञ्ज क्षेत्रमा लादा बस्तीलाई असर गर्दा यो समस्या हुने छ । अब पर्यटन क्षेत्रलाई अगाडि लैजाँदा मानव समुदाय सँग जोड्न पर्दछ उसको बाच्न पाउने कुरा आर्थिक कुरासङ जोडेर अगाडि बढ्छन् । हामीले अहिले सम्म पर्यटनको प्रदेशमा मास्टर प्लान बनाउन सकिएन । त्यसो भएका कारणले अलमलिएका छौ ।  साना साना कुरामा बढी केन्द्रित भएर अगाडि बढेका छौ। तर अब त्यस्तो होइन अब त्यो स्थानीय सरकारले हेर्नु पर्दछ । अब हामीले प्रदेशमा भएका महत्त्वपूर्ण २० ओटा पर्यटकीय क्षेत्रलाई अवलोकन गरेर त्यो बाट निजी क्षेत्रको सहभागितामा पर्यटन क्षेत्रबाट आर्थिक उपलब्धि हुनेछ।

निजी क्षेत्रको सहभागितामा पर्यटन क्षेत्रबाट आर्थिक उपलब्धि गराउन उहाँहरूको भूमिका कस्तो छ ?

 अब हामीले प्रदेशमा भएका महत्त्वपूर्ण २० ओटा पर्यटकीय क्षेत्रलाई अवलोकन गरेर त्यो बाट निजी क्षेत्रको सहभागितामा पर्यटन क्षेत्रबाट आर्थिक उपलब्धि हुनेछ । यसो गरेमा बाहिरी पर्यटन ल्याउन सकिन्छ । स्थानीय बासी आर्थिक उपलब्धि कति भयो भन्ने कुरामा लाग्न परो ।

पछिल्लो समय प्रदेशमा भएका पर्यटकीय गन्त्यव्यहरुमा कोरोना महामारीको नकारात्मक प्रभाव छ । यसको विकासमा कस्ता योजना बनाउनु भएको छ ?

पछिल्लो समय कोरोनाका कारणले नेपालको मात्र होइन प्रदेशकै पर्यटनको अवस्थामा बिग्रिएको छ । तर अब पर्यटन क्षेत्रका व्यवसायीहरूले पर्यटनको क्षेत्रमा लगानी गर्न परो प्रवर्द्धन गर्न परो जगेडा गर्न परो , सरकारले दिने खालका सेवा सुविधा प्रदान गर्न परो । गन्तव्य स्थलका पहिचान गरी लगानी मैत्रीपूर्ण वातावरण सिर्जना गरेर लगानी गर्न सक्नु परो । सहजता दिनुपरो भन्ने कुरा राखेका छन्  । हामी त्यसलाई आत्मासाथ गर्दै अगाडि जानेछौ । 

अहिलेको समयमा केही निश्चित जग्गा पर्यटन प्रवर्द्धन गर्नका लागि अगाडि बढेको छ । खोलाका क्षेत्रमा मापदण्ड राखेर खोला बाहिर सञ्चालन गर्न पाइयो । जसका लागि नियम पालना गर्न परो, खोलाका क्षेत्रलाई पर्यटनको क्षेत्रका रूपमा विकास गर्न आर्थिक आम्दानी लिन नियम सम्बद्ध रूपमा व्यावसाग गर्न पाइन्छ । हामीले अहिले प्रदेश सरकार बनेपछि जिल्लामा भएका कार्यालयहरू टाढा भए जसबाट आम जनताको ठुलो गुनासो आएको थियो । जसको सम्बोधन गर्ने क्रममा एक जिल्लाबाट अर्को जिल्लामा गएर सेवा लिन नपर्ने व्यवस्था गरियो जसका लागि विषयगत कार्यालयहरू सम्बन्धित जिल्लामा निर्माण गर्नुपर्छ भन्ने सम्बन्धमा धन कार्यालयले अन्तरगत वनका काम हरेक जिल्लामा छन् ।

पर्यटनका कार्यालय समेत हरेक जिल्लामा हुने गरी नियम रूपमा अगाडि ज्यादै छौ । कृषिको र भेटनरीको कार्यालय राखेर अब १४ जिल्लामै जादैछौ पूर्वाधार विकास मन्त्रालय अन्तगर पानी र गैरपानी भनेर हामीले पूर्वाधार विकास अन्तर्गत सडक झोलुङ्गे पुल र सहरी विकास कार्यक्षेत्र रहने गरी एउटा क्षेत्र त्यसैगरी खानेपानी तथा जलस्रोत व्यवस्थापन कार्यालय भनेर सिचाई खानेपानी  र जल उत्पादनको कार्यक्षेत्र बनाएर अर्को कार्यालय राख्दै छौ । त्यसैगरी शिक्षा स्वास्थ्य हाम्रो सम्पूर्ण जिल्लामा रहेका छन् त्यसपछि खेलकुद , शिक्षाको काम गर्ने गरी सामाजिक , युवा, महिला को काम गर्ने गरी १४ ओटै जिल्लामा जाँदै छौ ।

अन्त्यमा आम पर्यटन व्यवसायी तथा आम सर्वसाधारणलाई के भन्न चाहनुहुन्छ ?

म उहाँहरूलाई के आग्रह गर्न चाहन्छु भने १ नम्बर प्रदेशलाई पर्यटन क्षेत्रलाई विकास गर्न सरकार मात्र नभएर निजी क्षेत्रको समेत सहभागिता आवश्यक पर्दछ । र म पर्यटन व्यवसायीलाई के भन्न चाहन्छु भने हामी सम्पूर्ण मिलेर पर्यटन सम्बन्धी गुरु योजना बनाएर , नियमहरू तर्जुमा गरेर अगाडि बढ्ने योजना बनाएको छु । १ नम्बर प्रदेशलाई पर्यटन प्रवर्द्धन क्षेत्रलाई विकास गर्न तपाईंहरूसंग हातेमालो गर्न चाहन्छौ । अनि प्रदेशको विकास गर्न चाहन्छौ ।